
काठमाडौं ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन विपरित मतदान गरे देश दुर्घटनामा जाने बताएका छन् । बिहीबार चितवनको भरतपुरमा भएको ५ दलीय गठबन्धनको संयूक्त सभालाई
सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकताले बनेको बताउँदै भरतपुरमा हँसिया हथौडामा मतदान नगरे देश दुर्घटनामा जाने बताए । अहिले देशका लागि सहमति, सहकार्य, एकताको
आवश्यकता रहेको बताउँदै उनले अहिलेको गठबन्धन प्राकृतिक गठबन्धन रहेको बताए । चितवनमा रुखवालाले हँसिया हथौडामा भोट हाल्नु हुँदैन भन्ने गरेको कुरालाई गम्भीर रुपमा लिएको बताउँदै उनले
जनआन्दोलन २०४६ मा रुख र हँसिया हथौडासँगै हिँड्नु हुँदैनथ्यो ? के २०६२–६३ को जनआन्दोलनको बेला रुख र हँसिया हथौडासँगै हिँडेको गलत थियो ? भन्दै उनले प्रश्न गरे । उनले गिरिजा प्रसाद कोइरालाले अन्तिम समयसम्म पनि शान्ति सहकार्य र एकताको कुरा
गरेको स्मरण गरे । उनले रुखवालालाई चितवनमा हँसिया हथौडामा भोट हाल्न सकस भएकोले वाम गठबन्धनतिर गएको उल्लेख गरे । प्रचण्डले अघिल्लो चुनावमा चितवनमा काँग्रेससँग गठबन्धन गर्दा
रुखवालाले हँसिया हथौडामा भोट हाल्न नरुचाएका कारण शेरबहादुर देउवालाई सोधेर नै बाम गठबन्धनमा जान्छु भनी नढाँटीकन गएको बताए । उनले बाम गठबन्धनमा गएपनि केपी ओली प्रवृतिको विरुद्ध
लड्न १९ बुँदे पत्र आफूले दिएको उल्लेख गरे । उनले चितवन वासीलाई गठबन्धन कमजोर नबनाउन आग्रह गरे ।