२०७९ जेष्ठ ७ शनिबार

नेकपा एमालेलाई हरियो चिन्हदेखि किन डर ? कारण पुष्टि गर्न आयोगलाई चुनौती

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पार्टीको महिला संगठनले गरेको कार्यक्रममा महिला मुक्तिको मात्र कुरा गरेनन् । उनले आफ्नो दलको विरुद्धमा अदालत, सभामुख सरकार मात्र नभई निर्वाचन आयोगसमेत लागिपरेको आरोप लगाए । ओलीले आयोगलाई यस्तो आरोप

लगाउनुको कारण थियो, आयोगले आगामी चुनावमा हरियो रङको चुनाव चिन्ह छाप्ने निर्णय । आयोगको सो निर्णय आफ्नो दललाई मान्य नहुने र त्यसबारे निर्वाचन आयोगसँग छलफल गर्ने ओलीले बताएका थिए । ओलीको यो टिप्पणीको आयोगले प्रतिरक्षा गरेको छ । अघिल्ला चुनावहरूमा पनि हरियो रङको चुनाव चिन्ह प्रयोग गरेको

आयोगको भनाई छ । कालो, निलो, हरियो रातो सबै प्रकारका रङहरू यसअघिका चुनावमा प्रयोग भएको बताउँदै आयोगले मतपत्रमा हरियो चिन्ह राख्नु प्राविधिक कारण भएको दाबी गरेको छ । यता एमालेले आयोगको सो निर्णयको औचित्य पुष्टि गर्न चुनौती दिएको छ । चुनावको मुख्य सरोकारवाला पक्ष राजनीतिक दल भएकोले

राजनीतिक दलहरूसँग परामर्श नगरी एकतर्फी रूपमा आयोगले कुनै निर्णय गर्न नहुने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको धारणा छ । आयोग स्वतन्त्र संवैधानिक निकाय भएकोले उसले गरेको निर्णय राजनीतिक दलहरूले मान्नुपर्ने काँग्रेसको मत रहेको छ । आयोगले गरेको निर्णयमा राजनीतिक दलहरूको टिप्पणी आवश्यक नरहेको काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन् । चुनाव चिन्ह कस्तो

रङको भनेर विवाद झिक्नु भन्दा पनि कम्युनिष्ट पार्टीहरूले बिचार र सिद्धान्त अघि सारेर बहस गर्नुपर्ने उनको तर्क छ । मंगलबार काठमाडौँमा भएको कार्यक्रममा हरियो रङको चुनाव चिन्हको विरोध गर्दै आयोगमाथि खनिएका एमाले अध्यक्ष ओलीले बुधबार मोरङको रंगेलीमा भएको सार्वजनिक सभामा पनि काँग्रेस र आयोगको विरोध गरे । उनले काँग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको आरोप लगाए । सभामा उनले भने–‘अब काँग्रेसमा

लागेर केही काम छैन । काँग्रेस बिस्तारै बिस्तारै बुढो हुँदैछ । बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनायो’ ओलीले भने, ‘चुनाव चिन्ह हरियो हुँदा काँग्रेस बौरिँदैन । उनले चुनाव चिन्ह हरियो राख्न नहुनेमा जोड दिए । माओवादी केन्द्रबाट निर्वाचित रंगेलीका प्रमुख दिलीपकुमार बगडिया र उपप्रमुख केशवकुमारी खराललगायतलाई पार्टी प्रवेश गराएपछि ओलीले काँग्रेसको

आलोचनामा समय खर्चिएका थिए । ‘काँग्रेससँग देश बनाउने, नीति पनि छैन, विचार पनि छैन,’ उनले भने, ‘काँग्रेस एमालेको विरुद्धमा जान सक्दैन, अब काँग्रेसको दाँत मात्रै झरेको होइन रुखै सुकिसकेको छ ।’ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अघिल्लो चुनावमा सबै मतपत्रमा हरियो रङको चुनाव चिन्ह नभएको बताउँदै आयोगले गरेको निर्णयको औचित्य पुष्टि हुनुपर्ने बताए । रातोपाटीसँग कुरा गर्दै ज्ञवालीले भने–‘हाम्रो भनाई के मात्र हो भने निर्वाचन आयोगले मतपत्र, निर्वाचन नियमावली वा निर्देशिकाहरू केही चिजमात्र पनि परिवर्तन गर्दा राजनीतिक दलहरुलाई त्यसको विश्वासमा

लिने र त्यसको औचित्य पुष्टि गरेर बताउनु पर्ने हुन्छ । आयोगले मुख्य राजनीतिक दलहरुलाई जानकारी पनि नदिई किन एक्लै गरेको हो ? त्यसमा हामीले प्रश्न उठाएका हौँ । उसले त्यसमा यस यस कारणले भनेर औचित्य पुष्टि गरोस । आयोगले औचित्य पुष्टि गर्‍यो भने रङको कुरा नै ठूलो कुरा नहोला । तर चुनावको सबैभन्दा ठूलो सरोकारवाला पक्ष भनेको राजनीतिक पार्टीहरू नै हुन् । तिनीहरुसँग

सामान्य परामर्शपनि नगरीकन गरिएको निर्णयप्रति हाम्रो प्रतिक्रिया हो ।’ आयोगले प्राविधिक रूपमा रातो यसकारण ठीक छैन, यसकारणले हरियो जरुरी भयो भन्ने औचित्य पुष्टि गर्‍यो भने त्यसबारेमा छलफलबाट निष्कर्षमा पुग्न सकिने उनले बताए । तर विना जानकारी आयोगले निर्णयहरु गर्ने, परिवर्तन गर्ने काम गर्‍यो भने राजनीतिक दलहरूमा आशंका त जन्मिने ज्ञवालीले बताए ।

२०७८ फाल्गुन २६, बिहीबार प्रकाशित 0 Minutes 121 Views

ताजा समाचार