
काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सत्ता गठबन्धनमा एमसीसीबारे कुनै सहमतिको सम्भावना नभएको बताएका छन् । उनले एमसीसीमा कहिल्यै सहमति नहुने
भन्दै यथास्थितिमा एमसीसी पास गर्ने प्रयास भए सडक आन्दोलन तताउने बताए । एमसीसीमा कहिल्यै सहमति हुँदैन । यसलाई पास गर्ने प्रयास भए सडक आवश्यकता मोजिम तात्छ, तात्छमात्रै होइन,
त्यो बल्छ पनि नेता खनालले भने । उनले गठबन्धन ऐतिहासिक राजनीतिक घटनाक्रममा अस्थायी घटनामात्रै भएको दाबी गरे । ‘
गठबन्धन भन्ने कुरो बन्छन्, बिग्रिन्छन्, फेरि बन्छन्, यो ऐतिहासिक
प्रक्रियामा यी सबै अस्थायी घटनाक्रम हुन्,’ बिहीबार संसद् भवनबाट बाहिरिने क्रममा नेता खनालले सञ्चारकर्मीसँग भने, ‘तर देशको हित, जनताको हित र राष्ट्रको हितलाई कहिल्यै छाडिँदैन । त्यसैले
एमसीसीमा कुरा कहिल्यै मिल्दैन, तपाईंहरू यसमा मिल्ने आशै नगर्नुस् । उनले एमसीसीका पक्षधरहरू महाशक्तिको पछाडि लागेको आरोप लगाए । ‘एकथरी महाशक्तिको पछाडि लागेका छन्, अर्कोथरी
यो देशको स्वतन्त्रताको पक्षमा, सार्वभौमसत्ताको पक्षमा लागेका छौँ,’ उनले भने । उनले महाशक्तिको पछाडि दौडिएकाहरू र देशको स्वतन्त्रताको पक्षधरहरूबीचमा सहमतिको सम्भावना नभएको बताए ।
नेता खनालले सत्ता गठबन्धनसमेत अब भत्किन सक्ने बताए । अहिलेसम्म त गठबन्धन भत्किएको छैन, तर पर्खिनुस्, अब भत्किन्छ,’ उनले भने ।